असोज ९ देखि ११ सम्म अति भारी वर्षा हुनसक्ने चेतावनी, सतर्क रहन आग्रह



काठमाडौँ, असोज ५ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसम बुलेटिन जारि गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यसैगरी, मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।


उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको र उत्तः प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिसातिर सर्ने विभागको भनाई छ ।

मङ्गलबार र बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सोमबार नै एक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८३ सोमबार  ७ : ३७ बजे