काठमाडौ । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमप्रसाद अधिकारीका अनुसार प्रदेशभरका सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ राखिएको छ।
आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाउन निर्देशन दिइएको उनले बताए। उनका अनुसार बाढी तथा डुबानको सम्भावना रहेका क्षेत्र पहिचान गरी स्थानीय तह, प्रशासन र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ। जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको प्रहरीको भनाइ छ।
निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढीका कारण क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यस्ता स्थानमा विशेष निगरानी गर्न निर्देशन दिइएको छ। प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज र जनकपुरलाई समेत सम्भावित उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आपसी समन्वयमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
बैठकले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि तीनवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय र आवश्यकताअनुसार तत्काल उद्धार तथा राहत परिचालनमा जोड दिएको छ।
रौतहटदेखि सप्तरीसम्म उच्च जोखिम
मधेश प्रदेशमा रौतहटलाई बाढी तथा डुबानको दृष्टिले उच्च जोखिममा रहेको जिल्लामध्ये एक मानिन्छ। बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दा गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुर नगरपालिकाका तटीय बस्ती प्रभावित हुने गरेका छन्।
धनुषामा कमला, जलाद र औरही नदीमा बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, सहिदनगर, कमला र विदेह नगरपालिका जोखिममा पर्न सक्छन्। जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा भने पर्याप्त ढल तथा पानी निकासको व्यवस्था नहुँदा सहरी डुबानको जोखिम रहने गरेको छ।
सिरहामा कमला, बलान तथा स्थानीय खहरे खोलाको बाढीबाट सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुन सक्ने जोखिम छ। सप्तरीमा सप्तकोशीसँगै खाँडो, महुली, जिता र बलान खोलाका कारण हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका बस्ती जोखिममा छन्।
सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीका कारण बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र प्रभावित हुने सम्भावना रहेको सुरक्षा निकायको आकलन छ। महोत्तरी, बारा र पर्सामा भने चुरे क्षेत्रबाट बग्ने खोला तथा नदीमा आकस्मिक बाढी र कटानको जोखिम बढी देखिएको छ। महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीको कटानबाट जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्र प्रभावित हुने गरेका छन्।
बारामा पसाहा, दुधौरा, बालगङ्गा र तिलावे नदीमा आकस्मिक बाढी आउँदा कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्र तथा परवानीपुर र देवताल गाउँपालिका प्रभावित हुन सक्ने जोखिम छ।
पर्सामा ओरिया नदीको कटानका कारण जगरनाथपुर र धोबिनी गाउँपालिका तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाका केही क्षेत्र डुबानमा पर्ने गरेका छन्। सुरक्षा निकायका अनुसार चुरे क्षेत्रमा हुने दोहनका कारण खोलामा ढुङ्गा, बालुवा तथा गेग्रान थुप्रिँदा सामान्य वर्षामै पनि लेदोसहितको आकस्मिक बाढी बस्तीमा पस्ने जोखिम बढेको छ।
भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सर्दै गएको छ। उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा समेत परेको जनाइएको छ।
मौसम प्रणालीको प्रभावका कारण कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सम्भावित बाढी, डुबान र कटानबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायले पूर्वतयारी तीव्र बनाएको हो।
प्रदेश प्रहरीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई मौसमको अवस्था र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनाप्रति सचेत रहन आग्रह गरेको छ।










