आजको मौसम: यी प्रदेशमा भारी बर्षाको सम्भावना



काठमाडौं। हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव परेको छ। यसका साथै भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टाभित्र क्रमशः कमजोर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही र कोशी एवम् मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थानमा हावाहुरी चल्ने अनुमान गरिएको छ।

यस्तै, शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया बदली रहनेछ भने कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति : आश्विन १०, २०८३ शनिबार  ७ : ५९ बजे