चितवनस्थित नारायणी पुल हल्लिएसँगै ठूला सवारीसाधनसवारी चलाउन निषेध



नवलपुर । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।

अहिले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह समेत बढ्दैगएपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको उनले बताए ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको पण्डितले जानकारी दिए । उनका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ ।

नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए । देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो ।

नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रमा सात दशमलव तीन मिटर पानीको सतहलाई चेतावनीको तह र नौ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।

प्रकाशित मिति : आश्विन ११, २०८३ आईतबार  ७ : ०३ बजे