प्रतिनिधिसभाबाट तीन विधेयक सर्वसम्मतिले स्वीकृत दफावार छलफलका समितिमा पठाइयो



काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले कानुनी तथा न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा मन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक, २०८३’ र ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गरेकि थिईन् ।

सभामुखले निर्णयार्थ प्रस्तुत गरेका तीनवटै प्रस्तावको पक्षमा सांसदहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए । विपक्षमा कुनै आवाज नआएपछि सभामुखले तीनवटै विधेयक सर्वसम्मतिले सम्बन्धित समितिमा पठाइएको घोषणा गरे ।

अब यी विधेयक सम्बन्धित विषयगत समितिमा दफावार छलफलका लागि जानेछन् । समितिले छलफलपछि तयार पार्ने प्रतिवेदन पुनः प्रतिनिधिसभामा पेस गरिनेछ । त्यसपछि विधेयक पारित गर्ने प्रक्रियाअन्तर्गत थप काम अघि बढ्नेछ ।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ७ : ३७ बजे