हिल्सामा भारी हिमपात सडक खुलाउन कठिनाइ,मानसरोवर यात्रा प्रभावित



काठमाडौँ। हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षा र भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन्। हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि ताक्लाकोटमा व्यापार(व्यवसाय गर्दै आएका नाम्खा गाउँपालिका–१, २ र ३ का स्थानीयहरू नाकामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले जानकारी दिएका छन्।

हिमपातका कारण चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शन तथा आवतजावत स्थगन गरेको र आगामी असोज १८ गते ९अक्टोबर ४० देखि नाका पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।

नारा लेकसहित हिल्सा क्षेत्रमा दुईदेखि अढाई फिटसम्म हिउँ जमेकाले नेपालतर्फको सडक खुलाउन ठूलो चुनौती देखिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हिल्सामा एउटा मात्र स्काभेटर उपलब्ध रहेको र इन्धनको समेत समस्या भएकाले हिउँ पन्छाउने कार्य सुस्त बनेको छ। यद्यपि, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले सडक खुलाउने प्रयास निरन्तर जारी राखेका छन्।

यसैबिच, यस वर्ष हिल्सा नाका हुँदै कुल ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन्। अध्यागमन कार्यालयका अनुसार मानसरोवर जाने पर्यटकहरूमा ठूलो सङ्ख्या भारतीय नागरिकको छ भने बाँकी बेलायत, अमेरिका र नेपालका रहेका छन्।

सिजनको अन्त्यतिर भएको हिमपातले सीमा क्षेत्रको जनजीवनका साथै स्थानीय व्यापार र यातायात प्रणाली पूर्ण रूपमा प्रभावित बनेको छ।

प्रकाशित मिति : आश्विन १६, २०८३ शुक्रबार  १० : २१ बजे