काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई आम नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ महामन्त्रीमा लड्ने निर्णय लिएको बताए।
दूरदराजका नागरिकका आधारभूत समस्या, स्वास्थ्य उपचार र रोजीरोटीका मुद्दालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो मूल ध्येय रहेको उनले स्पष्ट पारे।
२०५४ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय डा। शर्मा मोरङ क्षेत्र नं। ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।
विगतमा लोकतन्त्र पुनःस्थापना र राजनीतिक रूपान्तरणका क्रममा आफूले खेलेको भूमिकाको स्मरण गर्दै उनले कांग्रेसलाई सुदृढ बनाउँदै मुलुक निर्माणको अभियानमा लैजान महाधिवेशन प्रतिनिधिहरूसँग सहयोगको आह्वान गरे।










