काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू केवल सरकार बनाउने र ढाल्ने खेलमा मात्र सिमित हुँदा मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसकेको र त्यसैको परिणामस्वरुप जनता तथा युवा पुस्तामा चरम असन्तुष्टि र विद्रोहको भावना चुलिएको बताएका छन् ।
आईतवार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको असन्तोषलाई ‘विदेशीको षड्यन्त्र’ भन्दै पन्छाउनुको सट्टा राजनीतिक नेतृत्वले आफ्नै असफलताको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारेका हून् ।
उनले भने, ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ। त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो। यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ।’
भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनतालाई आफ्नै देशमा रोजगारी, अवसर र समृद्धिको विश्वास दिलाउन राजनीतिक नेतृत्व सफल हुन नसकेको बताए।
राजनीतिक दलहरू देश र जनताको आर्थिक रूपान्तरणभन्दा पनि निरन्तर सत्ता समीकरणको अङ्कगणितमा अल्झिएका कारण नागरिकमा व्यापक निराशा छाएको उनको भनाइ छ ।










