काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सीताराम केसीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
वरिष्ठ अधिवक्ता केसीले पेशागत विषयविज्ञ क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन्।
केसीले कांग्रेसको संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित पेशागत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा जाने तयारी गरेको बताए। उनले पेशागत अनुभव, कानुनी क्षेत्रको प्रतिनिधित्व र पार्टी संगठनमा आफ्नो अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्य रहेको बताए।
केसी कांग्रेसभित्र कानुन व्यवसायी तथा पेशागत क्षेत्रबाट सक्रिय व्यक्तिका रूपमा परिचित छन्। यसअघि उनले कांग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारीमा रहेर सफल निर्वाचन प्रक्रिया सञ्चालन गरेका थिए।
उनको उम्मेदवारीले कांग्रेसभित्र कानुन व्यवसायी तथा पेशागत क्षेत्रको प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याउने देखिन्छ।
विद्यार्थी कालमै नेविसंघको राजनीति थालेका केसीले २०४६ साल र २०६२/६३ को जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए। २०५० सालमा अधिवक्ताको रूपमा कानुन क्षेत्रमा हात हालेका केसी हाल वरिष्ठ अधिवक्ताको रूपमा निरन्तर कार्यरत छन्।
२०५० सालदेखि अधिवक्ताको रूपमा कानुन व्यवसायमार्फत लोकतान्त्रिक व्यवस्था र सुशासनका लागि निरन्तर पैरवी गर्दै आएका केसी हाल वरिष्ठ अधिवक्ताको रूपमा निरन्तर कार्यरत छन्।
केसीले उम्मेदवारीको मुख्य आधार भने पेशागत अनुभव, कानुनी क्षेत्रको प्रतिनिधित्व र पार्टी संगठनमा आफ्नो अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्य रहेको बताएका छन् ।










