मनहरि श्रेष्ठले दिए आदिवासी जनजातिबाट केन्द्रीय सदस्यमा उम्मेदवारी



काठमाडौँ । नेपाली कांग्रेसका नेता मनहरि श्रेष्ठले जारी १५औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। जारी १५औँ महाधिवेशनमा धनुषा कांग्रेसका नेता श्रेष्ठले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

धनुषाको सबैलाका बासिन्दा श्रेष्ठले विद्यार्थी कालमै नेविसंघको राजनीति थालेका हुन्। उनले नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनले यसअघिका जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए।

श्रेष्ठले मधेशका आधारभूत मुद्दा र समावेशिताको सवाललाई केन्द्रीय नीति-निर्माण तहमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए।

धनुषाको माटोमै हुर्किएर राजनीति गरेकाले मधेशका नागरिकका आवश्यकता र अपेक्षाबारे आफू सूक्ष्म रूपमा जानकार रहेको उल्लेख गर्दै उनले भने, “केन्द्रीय सदस्य जितेर मधेशका समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नेछु। ओठे भाषणमा होइन, परिणाममुखी काममा विश्वास गर्छु। तल्लो तहदेखि नै सांगठनिक संरचना र भ्रातृ संस्थालाई चलायमान बनाउन सके आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउन सक्छ।”

केन्द्रीय नेतृत्वमा आफ्नो उपस्थितिले पार्टीभित्र जातीय तथा क्षेत्रीय सन्तुलनलाई अझ मजबुत बनाउने श्रेष्ठको दाबी छ।

प्रकाशित मिति : आश्विन २०, २०८३ मंगलबार  २ : ०० बजे