काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको तयारीस्वरूप मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री साहको भारत भ्रमणको मिति तय नभएको जानकारी दिए।
उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमणको मिति तय भएपछि त्यसबारे औपचारिक जानकारी गराइने उनले बताए ।
प्रवक्ता क्षेत्रीले भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तयारी भइरहेको जानकारी दिए ।
त्यसैगरी, मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा एजेन्डा निर्माणमा समेत काम गरिरहेको उनले बताए ।










