काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका घिमिरेले सोमबार सामाजिक सञ्जालमार्फत उनले मतदाताप्रति आभार व्यक्त गर्दै १,५१३ मत सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा रहेको बताए ।
उनले भने, ‘महामन्त्री पदमा मलाई विश्वास गरी आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले प्रदान गर्नुभएको १,५१३ मत मेरा लागि सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो ।’
उनले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया रहेको उल्लेख गर्दै आफू मत परिणामबाट विचलित नरहेको बताए । उनले अबको यात्रा फरक सोच र शैलीबाट अघि बढ्ने समेत बताए ।
‘म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्,’ उनले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो। यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु ।’










