काठमाडौं । प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले अमेरिकामा घुससम्बन्धी विषयमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती समाचार आधारहीन र कपोलकल्पित रहेको बताएका छन् ।
प्रधानन्यायाधीश शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका हुन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर समाचार प्रकाशित भएकोप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका हुन् ।
प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पोखरेलको नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषय तथा ‘फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण’ लगायतका शीर्षकमा समाचार प्रकाशित भएका थिए । ती समाचारमा उल्लेखित व्यक्ति र प्रसङ्गसँग आफ्नो कुनै संलग्नता नरहेको उनको दाबि छ ।
सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र आफूले उनीहरूलाई कहिल्यै नभेटेको पनि शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु।’
समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाक्रम हुँदा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको शर्माले बताएका छन् ।










