दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी



बैङ्कक, कात्तिक १८ गते । चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क रहन र चीनसँगको सम्बन्धमा हस्तक्षेप गर्ने व्यक्तिमाथि नियन्त्रण गर्न फिलिपिन्सलाई आग्रह गर्नुभएको छ ।

फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारो र वाङबीच मङ्गलबार राति भएको टेलिफोन वार्तामा दुई देशको सम्बन्ध तथा क्षेत्रीय विवादबारे छलफल भएको थियो । दुवै पक्षले कूटनीतिक संवाद जारी राख्ने र आपसी सम्मानका आधारमा मतभेद समाधान गर्ने सहमति जनाएका छन् ।

चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरको स्वामित्वलाई लिएर पछिल्ला वर्षहरूमा तनाव बढ्दै आएको छ । यसैबीच, फिलिपिन्सका लागि चिनियाँ राजदूतले चीनले चाहे बल प्रयोग गरेर सजिलै जित्न सक्ने अभिव्यक्ति दिएपछि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले त्यसलाई धम्कीका रूपमा लिनुभएको थियो ।

वार्तामा रिड ब्याङ्क क्षेत्रमा रोकिएको संयुक्त तेल तथा ग्यास अन्वेषणसम्बन्धी छलफल पुनः सुरु गर्ने सम्भावनाबारे पनि कुराकानी भएको फिलिपिन्सका एक अधिकारीले बताएका छन् । उक्त क्षेत्र फिलिपिन्सको विशेष आर्थिक क्षेत्रभित्र पर्ने भए पनि चीनले समेत दाबी गर्दै आएको छ ।

दक्षिण चीन सागरको विवादमा भियतनाम, मलेसिया, ब्रुनाई र ताइवान पनि संलग्न छन् । विश्व व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग रहेको यस क्षेत्रमा क्षेत्रीय दाबीका कारण तनाव कायम छ । रासस/एपी

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  ४ : ३४ बजे