पर्वतीय जलवायु कार्यक्रम सन् २०२७ देखि शुरू गर्न नेपालको प्रस्ताव



काठमाडौँ । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न तथा त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ।

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्न कोप–३१ को अध्यक्षताले तयार पारेको मस्यौदामा छुट्टै पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने प्रस्ताव समेटिएको छ।

नेपालले उक्त प्रस्तावको स्वागत गरे पनि कार्यक्रम कार्यान्वयनका महत्त्वपूर्ण पक्ष स्पष्ट नभएको भन्दै थप व्यवस्था गर्नुपर्ने धारणा राखेको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा। महेश्वर ढकालका अनुसार नेपालले कार्यक्रम सन् २०२७ देखि सुरु गर्ने समयसीमा, स्पष्ट कार्यक्षेत्र तथा कार्यान्वयन विधि र जलवायु वित्त एवं अनुकूलनका पर्वतविशेष सूचक स्पष्ट गर्न प्रस्ताव गर्नेछ।

मस्यौदाको बुँदा ३१ मा वैज्ञानिक बुझाइ अभिवृद्धि, अनुकूलनका कार्य, उत्थानशीलता निर्माण तथा पर्वतीय र हिमनदीमा निर्भर समुदायलाई सहयोग गर्ने लक्ष्यसहित छुट्टै कार्यकार्यक्रम स्थापना गर्ने प्रस्ताव छ। त्यस्तै, पर्वतीय क्षेत्रको विषयलाई पक्ष राष्ट्रहरूको सम्मेलन ९कोप० को स्थायी कार्यसूचीमा समावेश गर्ने, कोप–३२ मा उच्चस्तरीय संवाद आयोजना गर्ने तथा सहायक निकायका ६६औँ र ६८औँ अधिवेशनमा यस विषयमा संवादलाई निरन्तरता दिने उल्लेख छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा पर्वतीय मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने नेपालको प्रयासमा यसलाई महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ। यद्यपि, नेपाल र भूटानले गत अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका सबै विषय मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन्। हिमाली क्षेत्रमा तापमान वृद्धि १।५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने विषयलाई छुट्टै एजेन्डामा समावेश गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल र भूटानका तर्फबाट प्रस्ताव पेस गरेकी थिइन्।

मन्त्री चौधरीका सल्लाहकार अभिषेक श्रेष्ठले मस्यौदाको स्वागत गर्दै नेपालले प्रस्ताव गरेका सबै विषय समेट्न सम्बन्धित राष्ट्र तथा समूहहरूसँग निरन्तर वार्ता र कूटनीतिक प्रयास जारी राखिएको जानकारी दिए।

प्रकाशित मिति : मंसिर २, २०८३ बुधबार  १० : ३९ बजे