रसुवा, २ मङ्सिर । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा(टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।
विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।
स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्येबाट ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उनले बताए ।
सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ । विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए । बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौँमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए ।
टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए । तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उनले बताए ।










