पूर्वआईजीपी कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

अदालतको दैनिक पेसी सूची अनुसार उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको हो ।

यसअघि गत मङ्सिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको थियो । कार्कीको रिटमा आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेश हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : मंसिर ९, २०८३ बुधबार  १० : २६ बजे