काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरे । उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय लैङ्गिक हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै डिजिटल माध्यमबाट हुने हिंसा पनि पछिल्लो समय थप चुनौतीका रूपमा देखिएको बताएका छन् ।
संविधानको मर्मअनुसार समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा कार्यान्वयन गर्न सबै प्रकारका हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको छ । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकलाई सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन् ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष संयुक्त राष्ट्रसङ्घले ‘महिला तथा बालिकामाथिको हिंसा अन्त्यका लागि एकजुट बनौँ स् न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सञ्चालन गर्न आह्वान गरेको छ ।










