काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायहरूसँग समन्वय सुरु गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी नेपाल–भारत संयुक्त दृष्टिकोणपत्र ९जोइन्ट भिजन डकुमेन्ट० लगायतका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णयहरू कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले काम अगाडि बढाइसकेको छ । संयुक्त दृष्टिकोणपत्रमा उल्लेख भएका विषयहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग पत्राचार र समन्वय सुरु भइसकेको छ । यसको प्रगतिबारे पनि समय–समयमा जानकारी गराउँदै जानेछौँ ।’
उनका अनुसार संयुक्त दृष्टिकोणपत्रमा समेटिएका विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायहरूसँग पत्राचार तथा समन्वय गरिरहेको छ । सहमति र समझदारी कार्यान्वयनको प्रगतिको नियमित अनुगमनसमेत गरिने उनले बताए ।
यसैगरी, साउदी अरबमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको मृत्यु भएको छ । एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुई जना अझै उपचाररत रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ, नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको बैठक, नेपाल–चीन व्यापार तथा सीमा नाकाबाट सहज आवागमन, आर्थिक कूटनीति र क्षेत्रीय सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो ।
नेपाल–चीन व्यापारका सम्बन्धमा रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन सहज बनाउने विषयमा चीन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता क्षेत्रीले भने, ‘रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको छ । यसका लागि सम्बन्धित निकायहरू र मित्रराष्ट्र चीन सरकारसँग छलफल तथा समन्वयलाई अघि बढाइएको छ । यस विषयमा हुने प्रगतिबारे पनि मन्त्रालयले जानकारी गराउँदै जानेछ ।’
त्यस्तै, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए ।
नेपाल–भारत सीमा समस्याको समाधानका लागि दुवै देशका स्थापित संयन्त्रमार्फत कूटनीतिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त भएको पनि उनले जानकारी दिए ।










