काठमाडौँ, १४ कात्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
संविधानसभाबाट जारी भएको नेपालको संविधानले केही मौलिक व्यवस्था राखेको भएपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको सन्दर्भ उल्लेख गर्दै माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ समावेश गरेको उनले बताए ।
तेसैगरि नेकपा (एकीकृत समाजवादी) ले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।










