सहमति जुटाउन भन्दै सभापति देउवा निवसमा कांग्रेस शीर्ष नेताको बैठक सुरु



काठमाडौं चैत, २५– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा कांग्रेसको बैठक बोलाएका छन् । केहीबेर अघि सुरु बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने सहभागी भएका छैनन् । गएको शनिबार निर्धारित मितिमा कांग्रेसको बैठक बस्ननसकेपछि स्थगित भएको बैठक सुचारु गर्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । सभापति देउवाले आफ्नै निवासमा नेताहरुलाई बोलाएर मनाउने प्रयास थालेका हुन् ।

कांग्रेसमा सभापति देउवा र पौडेलबीच सहमति भएर कार्यसम्पादन गठन हुन लागेपछि आफूलाई तेस्रो धारको नेर्तत्व दाबी गदैृ आएका सिटौला झस्किएका हुन् । केही बेरअघि देउवा निवासमा सुरु भएको कांग्रेसका शीर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ र बलबाहादुर केसी सहभागी छन् । सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति, संसदीय बोर्ड र केन्द्रीय विभागका संयोजक तोक्ने विषयका साथै पार्टीले सरकारविरुद्ध देशव्यापी चलाउने भनिएको जनजागरण अभियानबारे छलफल गर्न भन्दै आफ्नै निवासमा बैठक बोलाएका हुन् । यसअघि पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको सङ्ख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेपनि तत्काल निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानका आधारमा पदाधिकारीसहित २९ सदस्यीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा समितिमा रहने सदस्यहरु देउवा र पौडेलका ६० र ४० का आधारमा राख्न सहमत भएको भन्ने समाचार सार्वजनिक भए पनि सिटौलाको असहमति सार्वजनिक हुँदै आएको छ । सो समितिमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट पनि सदस्य राख्नुपर्ने भन्दै आपत्ति जनाएका थिए । सिटौलाको आपत्तिपछि गत शनिबारको केन्द्रीय समिति बैठक नै स्थगित भएको कांग्रेसनिकट स्रोतले जनाएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा सहमति जुट्न नसकेपछि शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार  ६ : ०८ बजे