यूरोपमा आगामी बर्ष ग्यासको अभाव हुनसक्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको चेतावनि



युक्रेन युद्धका कारण रूसले ग्यासको आपूर्तिमा कटौती गरिरहेको अवस्थामा युरोपले अर्को वर्ष प्राकृतिक ग्यासको अभाव हुन नदिन तत्काल कदम चाल्नुपर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बिहीबार चेतावनी दिएको छ ।

सन् २०२३ को ग्रीष्मऋतुमा आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन र भण्डारण स्थललाई पर्याप्त मात्रामा भर्न आवश्यक पर्ने ३० अर्ब घनमिटर ग्यास अभाव हुन सक्ने पेरिसस्थित एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।

आईईएका अनुसार यदि रूसले पाइपलाइनमार्फत् हुने इन्धन आपुर्तिलाई पूर्ण रूपमा बन्द ग¥यो र चीनले तरलीकृत प्राकृतिक ग्याँसको आयात बढायो भने गयस अभाव हुनेछ । यूरोपले रूसी आपूर्ति प्रतिस्थापन गर्न चीनमाथि भरोसा गरेको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोधस्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो, तर यो क्षेत्र आगामी हिउँदका लागि भण्डारण स्थलहरू भर्न सक्षम भएको यसअघि बताइएको थियो ।

मस्कोले यस वर्ष युरोपलाई ६० अर्ब घनमिटर ग्यास आपूर्ति गरेको छ । आईईएले एक रिपोर्टमा बताएअनुसार रूसले सन् २०२३ मा त्यति नै रकम उपलब्ध गराउने सम्भावना निकै कम छ र यसले पूर्ण रूपमा आपूर्ति बन्द गर्न सक्छ ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकाय आईईएले आगामी वर्ष अभावको जोखिमबाट बच्न युरोपले ‘तत्काल कदम चाल्नुपर्ने’ बताएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ७ : ३२ बजे