काठमाडौं चैत, २६–
वीर गणेशमान सिंह फाउन्डेसनले जनआन्दोलन दिवसको सम्झनामा काठमाडौंमा पदयात्रा कार्यक्रम आयोजना गरेको छ ।
लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु मंगलबार बिहान पदयात्रामा सहभागी भएका हुन् ।

बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिईएको पदयात्रामा गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए ।
उक्त अवसरमा कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा सहभागी नायिका केकी अधिकारीले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गरेकी थिईन् । उनले भनिन् ‘गणेशमान सिंहकै कारण अहिले हामी यहाँ छौं ।’

प्रजातन्त्र पुनःस्थापना का लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए ।

त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापना गरेर पञ्चायती व्यवस्थाको अन्त्य गरेको थियो । आज जनआन्दोलन दिवसको अवसरमा प्रज्ञाभवन कमलादी र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।










