मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।
बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उनले बताए ।
गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।










