१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको गाडी हाँक्ने पालो आफूहरूको भएको भन्दै आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।
उनले मंसिर १५ गते शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।
महामन्त्री थापाले केही दिन भित्र नयाँ मन्त्रिपरिषद् बन्ने समेत बनाए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने गरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।
उनले भने, केही दिनमा नयाँ मन्त्रिपरिषद बन्छ। हाम्रो कानुनमा मन्त्रीपरिषद भित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । तर संसदमा हामी ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले अव १र२ जना भन्दा बढि पुरुषहरु पर्दैनन् तर मन्त्रीपरिषदमा कानुनी व्यवस्था नभएकाले गर्दा मुस्किलले एक जना महिला समावेश हुने गरेका छन्। म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनैपर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रिपरिषद् बन्छ । माघबाटै सो कानुन बनाउने काम लागौं। ’
महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्याए ।










