फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताएकि छन् ।
अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथिको कब्जाले रूससँग व्यवहार गर्ने ‘युरोपेली कमजोरी र रणनीतिक भूल’ दुवैलाई उजागर गरेको बताइन् ।
“म तपाईंसँग धेरै इमानदार हुनुपर्छ, निर्ममतापूर्वक इमानदार हुनुपर्छ, युरोप अहिले पर्याप्तरूपमा शक्तिशाली छैन । हामी संयुक्त राज्य अमेरिका बिना समस्यामा पर्नेछौं,” उनले सिड्नीको लोवी इन्स्टिच्युटका थिङ्क ट्याङ्कसँगको छलफलमा भनिन् ।
मारिनले युक्रेनलाई युद्ध जित्नका लागि ‘जे चाहिए पनि’ दिनुपर्नेमा जोड दिँदै युद्धमा रूसको सफलतालाई निस्तेज पार्न आवश्यक हतियार, आर्थिक र मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
उनले भनिन्, “हामीले युरोपेली रक्षा र युरोपेली रक्षा प्रणालीको कुरा गर्दा यो सुनिश्चित गर्नु पर्दछ आवश्यक ती क्षमताहरू पनि निर्माण गरिरहेका छौं र हामी विभिन्न प्रकारका परिस्थितिहरूको सामना गर्न सक्दछौं ।”
फिनल्यान्डले लगभग १०५ वर्षअघि रूसबाट स्वतन्त्रता प्राप्त गरेको थियो र आक्रमणकारी सोभियत सेनालाई ठूलो सङ्ख्यामा मारिएको भए तापनि त्यसको केही समयपछि रूसले फिनल्याण्डको ठूलो जनधनको क्षति पु¥्याएको थियो ।














