फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ ।
नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो ।
यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरुलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ ।
यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ ।सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ ।
फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ ।
“कुहिने फोहरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ”, नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ । यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ ।