काठमाडौं वैशाख, १५–
सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षा सरकारले गर्ने जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुति सरकारले प्रदान गर्ने बताएका हुन् ।
आईतबार १९ औँ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरि सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने प्रष्ट पारेका हुन् ।
दैनिक कामका लागि विदेशीने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उनको भनाइ थियो ।
मन्त्री विष्टले भने, ‘सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याई उचित पारिश्रमिक, स्वास्थ्य सेवा , पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।’ कार्यक्रममा व्यवसायीहरुले व्यवसायजन्य स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउन माग गरे । श्रमिकको स्वास्थ्य लगायत कार्यस्थललाई सम्पुर्ण दृष्टिकोणबाट सुरक्षित बनाउने तर्फ सरकारका कार्यक्रम केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ थियो ।










