बजेट पास भए पनि आर्थिक सङ्कट टार्दैन : केपी ओली



जेष्ठ २३ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना नरहेको टिप्पणी गरे ।

“आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ ।” ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताए । बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरुले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकीर गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।

प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार  ५ : २४ बजे