सर्लाही, २७ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ ।
नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए । उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको भएको पनि एक वर्ष पूरा भएको छ तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्पजस्तै छ ।
राजनीतिक द्वन्द्वका कारण हरिपुर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नगरसभा नै ढिलो भयो । गत मङ्सिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको नगर प्रमुख साहले बताए । हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरीचौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिकाको कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीय युवा वीरेन्द्रप्रसाद अधिकारीले बताए ।














