आइएमएफको मिसन टोली र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता



काठमाडौ , साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आउनुभएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक योजना तर्जुमाका विषयमा चासो राखेको थियो । १६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना, सार्वजनिक लगानी व्यवस्थापन मूल्याङ्कन पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट सुझाव कार्यान्वयनको स्थितिलगायतका विषयमा चासो राखेको छ ।

त्यस्तै, नेपाल अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीका विषयमा समेत छलफल भएको जनाइएको छ । नेपालले सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको छ ।छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले आइएमएफले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । यही जुलार्ई २० मा नेपाल आएको आइएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार  २ : ५२ बजे