काठमाण्डौ,बैशाख २५-
प्रधानमन्त्री केपी शर्मा ओली आफु प्रधानमन्त्री भएपछिको पाचौ बिदेश भ्रमणको रुपमा बिहिबार दक्षिणपूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा निस्कँदै छन्।
नेपाल वायुसेवाको चार्टड सेवाबाट ओली ११:२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन्।
भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यस् तर्फ जान लागेका हुन । प्रधानमन्त्री बनेलगत्तै ओली भारत भ्रमणमा गएका थिए। त्यस लगत्तै उनी उत्तरी छिमेकी चीन, संयुक्त राष्ट्रसंघ र डाभोस फोरममा भाग लिन स्वीट्जरल्यान्ड गएका थिए।
प्रधानमन्त्री ओलीको जम्बो भ्रमण टोली
ओलीको भ्रमण दल ४२ सदस्यीय हुने भएको छ। ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा र वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी छन्।
त्यस्तै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ छन्।
भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत छन्।
त्यस्तै ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत छन्।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली सुरुवातको ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियामा रहनेछन्।
भियतनामबाट भ्रमणको सुरुवात गर्ने ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्धिपक्षीय वार्तासमेत गर्नेछन्।
परराष्ट्रमन्त्रालयका अनुसार उनले त्यहाँको संसद् ‘नेसनल एसेम्ली’का अध्यक्षसँग पनि भेट्नेछन्। ओलीको सम्मानमा भियतनामी प्रधानमन्त्रीले रात्रि भोजको आयोजना गर्नेछन्।
भ्रमणकै क्रममा ओलीले बुद्धको सम्मान र सम्झनामा आयोजना गरिने अन्तर्राष्ट्रिय बेशाक दिवसको सभालाई सम्बोधन गर्नेछन्।
त्यस्तै उनले होची मिन्ह राष्ट्रय राजनीतिक प्रतिष्ठान र नेपाल—भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्नेछन्।
भ्रमणकै बेला नेपाल–भियतनामबीच सिधा हवाइ उडान गर्ने सम्झौतामा हस्ताक्षर हुनेछ। यद्यपी, सन् २०१५ मै दुई देशबीच सिधा हवाइ उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको थियो। जसमा दुवै देशले सातामा १४ वटा उडान गर्न पाउने उल्लेख थियो। त्यसको कार्यान्वयन भने हुन सकेन।
भियतनामको भ्रमण सकेर ओली कम्बोडिएको भ्रमणमा जानेछन्। कम्बोडिया भ्रमणका क्रममा ओलीले समकक्षी हुन सनेसँग द्धिपक्षीय वार्ता गर्नेछन्।










