काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अनस्किल्ड मेनपावरले विदेशमा गएर पठाएको रेमिट्यान्सभन्दा बढी रकम विदेश अध्ययनका क्रममा बाहिरिरहेको बताए । नेपालमा इञ्जिनियरिङ र प्राविधिक शिक्षा महँगो भएको र विद्यार्थीको ‘जव सेक्युरेटी’ नभएका कारणले विदेशमा गएर पढ्दै कमाउँदै गर्छु भनेर विद्यार्थीहरु विदेशिने गरेको उनको भनाइ छ ।
उनले भने,‘सबैभन्दा नेपालको बेस्ट माइन्ड आईओई भनेर हामी मान्छौं । अनस्किल लेवर खाडीमा पठाएर हामीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्सलाई हामीले मान्ने गर्छौ । तर, आज त्यो रेमिट्यन्सभन्दा बढी खर्बौ रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न बाध्य छन्,।’
उनले देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका कारण नेपालमा बस्ने अवस्था नरहेको दावी गरे । अध्यक्ष शेर्पाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आईओईका पदाधिकारीहरुले संस्थासँग पैसा छैन भन्ने गरेपनि मिटिङ र सेमिनार भने तारे होटलहरुमा आयोजना गर्ने गरेको आरोप लगाए ।
उनले तीन दिनभित्र शूल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले भने,‘आईओई र त्रिभुवन विश्वविद्यालयले यो चर्को शुल्क वृद्धि फिर्ता गरेन भने आईओई र त्रिविका पदाधिकारीलाई हामी हिसाब गर्छौं,’ ।














