विराटनगरमा राधाकृष्ण रथयात्रा : नेपालका विभिन्न जिल्ला र भारतबाट लाखौं सहभागि



विराटनगर । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर –१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपरान्ह ४ वजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको हो ।

मोरङ, सुनसरी, झापाका साथै सीमावर्ती भारतीय शहरका लाखौं श्रद्धालुको उपस्थिति सहितको रथयात्राले मेन रोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड र बरगाछी हुँदै नौ किलोमिटरको दुरी तय गर्नुका साथै ४३ स्थानमा विश्राम गर्दै पुनः मन्दिरमा परिसरमा पुग्न करीव पाँच घण्टा लाग्ने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए।

श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट निकालिने गरिएको रथयात्रा वि.स. २०२५ सालदेखि शुरु भएको हो । रथयात्रा अघि खटयात्रा निकालिने गरिएको थियो । खटयात्रा वि.स. १९८८ देखि शुरु गरिएको थियो ।

विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रा पछिको दोश्रो ठुलो विराटनगरकोलाई मान्ने गरिएको अध्यक्ष रेग्मीले बताए ।

रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत गरि लाखौं भक्तजन आउने गरेको उनको भनाई छ । रथयात्रा सम्पन्न गर्नका लागि १८ वटा उपसमितिहरुले निर्माण गरिएको छ।रथयात्रा अवलोकन गर्न नेपाल र भारतका विभिन्न स्थानीय तहका प्रमुखहरुको पनि सहभागिता रहेको छ । यसैबीच रथयात्राका अवसरमा विभिन्न शंकास्पद गतिविधीमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ८ : ०२ बजे