काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । त्यस क्रममा उनले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको शव नेपाल फर्काउन पहल गरिदिन आग्रह गरेका छन् ।
उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुरा गर्दै विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताएका थिए ।
‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ । उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल जानुभएको थियो । दुःखद घटनाले गर्दा उहाँहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित हुनुहुन्छ’ कुराकानीका क्रममा साउदले भने ।
उनले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन् ।
उनले भने, ‘महामहिमज्यू, अब हामीले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ । तसर्थ शवहरु नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ ।’
मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चारजना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गर्न र आक्रमणपछि सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन इजरायल सरकारसँग आग्रह गरेको जनाएका छन् ।














