काठमाण्डौ । आगामी सुख्खा मौसममा काठमाण्डौमा खानेपानीको संकट ब्यहोर्नु नपरोस् भन्दै संघीय खानेपानी मन्त्री महिन्द्र रायलाइ भेटेर मागपत्र पेश गरिएको छ ।
सांसद एबं कांग्रेस नेता प्रदीप पौडेलको अग्रसरतामा काठमाण्डौ क्षेत्र नं. पाँचका स्थानीय निकायका पदाधिकारीसहितको टिमले मन्त्री रायसँग मागपत्र पेश गरेको हो ।
भेटमा सांसद पौडेल र स्थानीय निकायका पदाधिकारीसहितको टिमले काठमाण्डौंबासीलाई तत्काल मेलम्चीको खानेपानी उपलब्ध गराउन र खानेपानी सञ्जाल सबै उपभोक्ताको पहुँचमा तत्कालै पुर्याउन माग गरेको छ । तेस्तै शिवपुरी आरक्षण क्षेत्रभित्रका खेर गइरहेका पानीका स्रोतहरूलाई एकीकृत ढंगले संकलन गर्दै हिउँदमा हुने अभावलाई समेत सम्बोधन गर्न सकिने पूर्वाधार निर्माण गरि आरक्षण क्षेत्रभित्रको पानीलाई समेत वैकल्पिक श्रोतका रुपमा विकास गर्न तत्कालै अध्ययन अनुसन्धान थाल्न पनि माग गरिएको छ।
मन्त्रालयले बजेट विनियोजन गरिसकेर पनि निर्माण सम्पन्न नगरी अलपत्र पारिएका उपत्यका भित्रका सबै बोरिङ परियोजनाहरूलाई तत्काल पानी उपलब्ध गराउन र खानेपानीको पाइप विस्तार तथा मर्मतसम्भार गर्दा बिग्रिएका–भत्किएका सडकहरूको तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न पनि माग गरिएको छ ।
कार्तिक महिनामै काठमाण्डौ उपत्यकामा खानेपानीको अभाव भइसकेको र समस्याको तत्कालै सम्बोधन नगर्ने हो भने आगामी सुख्खा मौसममा खानेपानीको संकट झनै चुलिँदै जाने भएकाले सरकारको ध्यानाकर्षण गराइएको सांसद पौडेलले बताए ।














