भक्तपुरका फूल युरोप, अमेरिकासम्म



भक्तपुर, २६ कात्तिक । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।

भक्तपुरको गुण्डु सबैभन्दा बढी फूल खेती हुने गर्छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म टिपिरहेका छन् । 

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताइन् । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु दुई लाखसम्म आम्दानी हुने बताउदै उनले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताइन् । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ । 

असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनि बताउछिन् । सयपत्री फूल पनि असार÷साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सीर÷पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ । 

फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्दा पाथीको रु। ५० देखि रु।६० सम्म र एक किलोको रु।२५० मा बिक्री गर्ने गरिएको छ । भारतबाट आउने मखमली र सयपत्रीलाई रोक्न सके नेपाल फूलमै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ । 

यहाँका कृषकले वर्षमा कम्तिमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै रु २५ देखि ३५ मा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला रु। २० देखि रु। २५ मा बिक्री हुने भए पनि बजारमा लैजादा व्यापारीलाई रु। ४० सम्ममा बिक्री गर्ने गरिएको छ । यही माला खुद्रा बजार पु¥याउन सके रु ५० सम्म आउने गर्दछ । 

युरोप, अमेरिका पुग्छन् भक्तपुरका फूल

अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । 

नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पु¥याउन पाउँदा खुसी लागेको बताउछिन् । 

उहाँले भनिन्, “विगत केहीवर्षदेखि मैले सम्पर्क व्यक्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा पनि यहाँका फूल तथा माला पु¥याउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरुको उत्पादन पनि खरिद गरेर विदेशका लागि फूल तथा माला पठाउँछु ।” सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा मालालाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका विभिन्न जिल्लामा पठाउने गरेको उनले बताइन् । फूलको बजार स्वदेशदेखि विदेशसम्म रहेको र हरेक वर्ष विदेशबाट फूल तथा मालाको माग बढेको उनि बताउछिन् ।

घरघरमै आउँछन् फूल किन्न व्यापारी

दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज हुने गरेको छ । घरमा आउने व्यापारीलाई बजारमा भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् ।

गतवर्ष १२ सय माला व्यापारीलाई बिक्री गरेकी कृषक मिना नगरकोटीले यसवर्ष पनि फूल र मालाको माग धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १५ सय माला बिक्री गर्न माला गाँसेर बजार लान भ्याइनभ्याई भएको छ । 

गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उनले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताउछन् । यहाँका बासिन्दाले दसैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् । खेताला लगाउँदा एउटा मालाको पाँच रुपैयाँ ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनको भनाइ छ । कतिपयले गाउँ पसेका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पु¥याउने गरेका छन् । 

फागुनमा रोपेर असारदेखि उत्पादन

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन, फूल खेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बसाइँ सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डुका स्थानीयवासी एवं जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा बताउछन् । उनका अनुसार गुण्डुमा मात्रै एक हजार पाँच सय घर परिवारले फूल खेती गरिरहेका छन् । कम्तीमा चार आनादेखि बढीमा पाँच रोपनीमा यहाँका बासिन्दाले फूल खेती गरेका छन् ।

धान खेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली, डिलमा जताततै फूलखेतीले ढकमक्क बनेको भन्दै उहाँले एकैपटक दोहोरो आम्दानी हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको बताउछन् ।  

फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ । ‘‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल असारको अन्तिम वा साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ’’ धेरैवर्ष फूलखेती गरेकी स्थानीय एवं जिल्ला समन्वय समिति भक्तपुरकी पूर्व उपप्रमुख सरिता कुँवरले बताइन् । फूलसँगै मकै र भटमास पनि फलाउन सकिने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएको उनको भनाइ छ । एउटै जग्गामा एकै पटक मकै, भट्मास र फूल फुलाउन सकिने बताउदै उनले व्यावसायिक रुपमा फूल खेती हुन थालेपछि धान खेतमै फूल खेती पनि बढेको बताइन् ।

स्थानीय बासिन्दाले मात्रै नभई २०७२ को भूकम्प पछि विभिन्न जिल्लाबाट यहाँ आएर जग्गा भाडामा लिएर फूल खेती गर्नेहरु पनि धेरै थपिएपछि गुण्डुमा फूल उत्पादन बढेको हो । बाहिर जिल्लाबाट आएर फूलखेती गर्नेले १५० भन्दा बढी टनेलमा फूल खेती गरेको बताउँदै उनले फूलखेतीमा भक्तपुर आत्मनिर्भर रहेको छ ।

यता चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर माला उनेर  बजारमा लैजान भ्याइनभ्याई भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेट दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका बनमाला । विगतमा वनमालाहरुले मात्रै व्यावसायिक फूल खेती गर्दै आए पनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अन्य जातजातिले पनि फूल खेती गर्न थालेका छन् । 

वर्षौदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीय श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउछन् । धेरै वर्ष यहाँ वनमालाले मात्रै फूल खेती गर्ने गरेको भए पनि अहिले धेरैले फूल खेती गर्न थाले पनि आफूहरुको आम्दानीमा असर नपरेको उनि बताउछन् । 

दश वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एक याममा ४० हजार कमाउने गरेको बताइन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । 


स्थानीय सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गरिन् । उनले भनिन्, “घरघरमै फूलको माला लिन आउनेलाई रु ४२ हजारको माला बेचियो, अझै ३५ हजार जतिको माला तयार छ, दुई दिनमै बिक्री हुन्छ ।” किसानले बजारमा आफैँले माला लैजादा एउटा मालाको रु ४० देखि १०० सम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु ३० देखि ४० सम्म दिने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८० आईतबार  ४ : ४१ बजे