काठमाडौँ, १ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले आफ्नो तयारी तीव्र बनाएको छ । सम्मेलनमा नेपालको अन्तिम तयारीका लागि मङ्सिर ५ गते काठमाडौँमा ‘राष्ट्रिय जलवायु सम्मेलन’ गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ । साथै नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुने मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा मन्त्रालयका सरोकारवाला उच्च पदाधिकारी, प्रदेश सरकारका मुख्यमन्त्री, सरोकारवाला संस्थाका प्रमुख र पदाधिकारी, विकास साझेदार, सञ्चारकर्मीलगायतको सहभागिता रहने उनले बताए ।
मन्त्रालयले यसअघि सम्मेलनमा नेपालको सहभागिताको तयारीका लागि मार्गचित्र तयार गरी सोहीअनुसार काम गरिसकेको छ । सहसचिव डा पौडेलले भने, “सम्मेलनको तयारीका लागि हालसम्म मन्त्रीको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव र अन्य सरोकारवाला निकायका प्रमुख प्रतिनिधि रहेको समिति गठन गरी सुझाव सङ्कलन गर्ने काम भइसकेको छ । महाशाखाको नेतृत्वमा विषयगत मन्त्रालयका प्रतिनिधि समावेश भएको कार्यदल गठन गरी सो कार्यदले सरोकारवालासँगको समन्वय परामर्श तथा सहभागितामा कोप–२८ का लागि ‘राष्ट्रिय स्थिति पत्र’ तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”
सम्मेलनमा नेपालले उठाउने जलवायु अनुकूलन, न्यूनीकरण, जलवायु वित्त, हानि तथा नोक्सानी, वैश्विक मापन तथा पारदर्शिता, पर्वतीय, लैङ्गिक समानता, युवा बालबालिका तथा जनजातिलगायतका मुद्दामा विषयगत समूह गठन गरी कार्यपत्र तयार गरिरहेको मन्त्रालयले जनाएको छ ।
कोप–२८ मा नेपालले प्रधानमन्त्री दाहालको नेतृत्वमा उच्चस्तरीय सहभागिता जनाउने भएको छ । मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन सोहीअनुसारको तयारी गरिएको जनाएको छ । प्रधानमन्त्री दाहाल सम्मेलनमा सहभागिताका लागि यही नोभेम्बर २९ तारिखमा युएई जानुहुने र डिसेम्बर ४ तारिखमा फर्कनुहुने कार्यक्रम तय भएको छ ।










