विराटनगर । केहि दिन देखि आएको मौसममा बदलीले देशको उच्च पहाडी भेगमा लगातार हिमपात भएको छ । हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजीवत प्रभावित भएको भने काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।
मौसम परिवर्तन भइरहेकाले तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ । दुई दिनयता बेला बेला वर्षा हुने र धुम्म हुने गरेकाले तराईका जिल्लामा पनि चिसो बढेको छ ।
यसैबिच ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा पनि हिमपात भएको छ ।वर्षापछि ती क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । स्थानीय लाक्पा शेर्पाका अनुसार इलामको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायत क्षेत्रमा हिमपात भएको छ ।
हिमपातपछि चिसो निकै बढेको उनको भनाइ छ । गत बिहीबार दिउँसोदेखि नै ती क्षेत्रमा हिमपात हुन थालेको हो ।३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर क्षेत्र कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येको एक हो ।
हिमपात भएपछि त्यस क्षेत्रमा घुम्न जाने र हिउँमा खेल्नेहरु आकर्षित हुने गरेका छन् ।वर्षा र हिमपातपछि स्थानीय किसान खुसी भएका छन् । आफूहरुले लगाएको बालीनाली सप्रने भएकाले उनीहरु उत्साहित छन् ।
उता, ताप्लेजुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा पनि वर्षा र हिमपात भएको छ ।हिमपात भएपछि तीर्थयात्रुहरु प्रभावित बनेको स्थानीय जीवन खतिवडाले बताए ।










