ओलीलाई वामदेवको चुनौतीः ‘इन्चार्ज–सहइन्चार्जको प्रस्ताव जस्ताको तस्तै पास गरेर देखाउनुस’



काठमाडौं जेठ, २३–
पार्टी एकताको एक वर्षसम्म ४०–४५ जनाबाहेक सबै केन्द्रीय सदस्य नेतृत्वका कारण बेरोजगार बन्दा पार्टीलाई ठूलो क्षति पुगेको भन्दै नेता वामदेव गौतमले आक्रोश पोखेका छन् ।

उनले सबैतिर अध्यक्षले गुट हेरेर एकलौटी जिम्मेवारी दिँदै आएको र इन्चार्ज–सहइन्चार्जको प्रस्ताव पनि त्यसैगरी आएको भन्दै जस्ताको तस्तै पारित गर्न चुनौती दिए ।

‘हाम्रा केन्द्रीय कमिटीका सदस्यलाई शक्ति ठानेर काम दिने कुरामा कञ्जुस्याइँ छ । आफ्ना मान्छेलाई मात्र छानेर जिम्मेवारी दिँदै आउनुभएको छ, अब पनि कहाँ क–कसलाई राख्नुपर्छ, सक्नुहुन्छ भने फेरि पनि त्यस्तै निर्णय गर्नुस् ।’

महानगरमा केन्द्रीय सदस्य प्रस्ताव

नेकपाले महानगरपालिकामा केन्द्रीय सदस्यलाई इन्चार्जका रूपमा खटाउने भएको छ । सम्बन्धित जिल्लाकै नेताहरूलई इन्चार्ज तोक्ने गरी नाम प्रस्ताव गरिएकोमा महानगर कमिटीमा पनि केन्द्रीय सदस्यलाई तोक्ने गरी सूची आएको एक नेताले बताए ।

नेकपाले महानगर कमिटीलाई जिल्ला कमिटी, सोसरहको हैसियत दिएकाले पनि केन्द्रीय सदस्यहरूलाई नै इन्चार्ज तोक्ने गरी प्रस्ताव आएको उनले बताए । इन्चार्ज तोकिएपछि पोलिटब्युरो गठन, केन्द्रीय विभाग गठन, एकतासँग जोडिएका बाँकी कामलगायतमा क्रमशः छलफल गर्ने नेकपाको तयारी छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहिबार  २ : ५२ बजे