काठमाडौं– संघीय संसदको दुवै सदनको बैठक आजका लागि डाकिएको छ । सदन अवरोधका कारण मंगलबार सारिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
तर, नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपलचनमा मुछिएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठन गनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले संसदीय समिति गठन नगरे सभाको अवरोध नहटाउने स्पष्ट भनेको छ ।
मंगलबार पनि संसदीय समिति गठन गरिनुपर्ने माग राख्दै सदनमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए । सदन अगाडि बढाउने स्थिति नभएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटपछि बस्ने गरी स्थगित गरेको बैठक कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर आजका लागि सारिएको हो ।
बैठक सञ्चालनका लागि सभामुख घिमिरेले राजनीतिक दलका शीर्ष नेताबीचको मंगलबार बिहान छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकेनन् । सदनको अवरोध हटाउन मंगलबार साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच बैठक बस्यो । तर, सहमति जुट्न सकेन ।
कांग्रेसले आफ्नो अडान कायमै राख्दा आज पनि प्रतिनिधि सभा बैठक शुरु हुने, कांग्रेसले अवरोध गर्ने र सभामुखले बैठक रोक्नुपर्ने स्थिति बन्ने निश्चितजस्तै छ ।
बैठक बस्न सके उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले उत्तर दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने, अर्थमन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची राखिएको छ ।
यस्तै, राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ । बैठकले आज सभाको उपाध्यक्ष निर्वाचनमार्फत चयन गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ । राष्ट्रियसभा सदस्य दुर्गा गुरुङ र भगवती न्यौपानेले क्रमश विष्णु देवी पुडासैनी र विमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नेछन् । उक्त प्रस्तावलाई अध्यक्ष नारायण दाहालले निणयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ ।














