ललितपुरका घर-घरमा नगरप्रहरी अभियान



ललितपुर, २३ जेठ । ललितपुर महानगरपालिका नगरप्रहरीले सेवा सुविधाबारे जानकारी दिन तथा विकास निर्माण र कर व्यवस्थापनलाई नागरिकमैत्री बनाउन घरघरमा नगरप्रहरी अभियान सुरु गरेको छ ।

“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार” भन्ने नाराका साथ आफ्ना गतिविधिहरू, विकास निर्माणका काम र सामाजिक काम गर्दै आएको सुन्दर ललितपुर नगरी, घरघरमा नगरप्रहरी परिचालन अभियान आजबाट सुरु भएको हो ।

ललितपुरले सुरु गरेको यो अभियान देशकै नयाँ नौलो भएको दाबी गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले यस अभियानले बहुआयामिक महत्व कायम गर्ने धारणा राखे ।

“निर्वाचन जितेर जनप्रतिनिधि जनताको घरदैलोमा पुग्न नसकेको अवस्थामा घरघरमा पुगेर त्यसको रिक्ततालाई मेट्दै उनीहरुको सेवा, सुविधा र सहयोगमा थप मद्दत पु¥याउने छन् भन्ने हाम्रो विश्वास छ, वडा अध्यक्षलाई पनि काम गर्न सहज हुनेछ”, उनले भने ।

अभियानमा भएका राम्रा नराम्रा अनुभव, गतिविधि तथा सुधार गर्नुपर्ने पक्षलाई समेटेर नगरप्रहरी प्रमुखले प्रत्येक हप्ताको जानकारी महानगर प्रमुखलाई गराउने व्यवस्थापन भएको उनले जानकारी गराए । यो अभियानमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग सहकार्य गरिने जानकारी गराउदै नगरप्रमुख महर्जनले नगर प्रहरीको कामबाट विगतमा नगरवासीबाट आउने गुनासोमा ७० प्रतिशत कम भएको बताए ।

उनले नगरप्रहरीकै सक्रियतामा सडकको सरसफाइ र वृक्षरोपण गरिएका बोटबिरुवाको संरक्षण र त्यसमा नियमित पानी दिएर सहरलाई सुन्दर बनाउन काम गर्दै आएको जानकारी गराए । वृक्षरोपण गरिएका बोटबिरुवा संरक्षणका लागि प्रोत्साहन र दण्ड र जरिवानाको नीतिलाई पनि महानगरले अवलम्बन गर्दै आएको बताउँदै विगतमा बोटबिरुवा मास्ने एक जनालाई रु एक लाख र अर्कालाई रु १५ हजार जरिवाना गरिएको जानकारी गराए ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ८ : ०३ बजे