पार्टीमा महिलाको सहभागिता कम भयो : एमाले अध्यक्ष ओली



चितवन, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा महिलाको सहभागिता कम हुँदै गएको भन्दै बढाउनुपर्नेमा जोड दिएका छन्। एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरुको बीचमा लैजान निर्देशन दिए ।

फरक प्रसंगमा उनले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे । उनले भने “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।”

माडीमा राम मन्दिर बन्ने बताउँदै उनले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने उनले बताए। माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राखेका थिए ।

एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै सपथग्रहण गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  ७ : ०८ बजे