कोशी प्रदेश सरकारविरुद्धको रिट स्थगित



काठमाडौं । (विराटनगर) कोसी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अदालतमा दायर गरेको रिट आज ‘हेर्न नमिल्ने’मा परेको छ । रिटमामाथि पूर्ण इजलासमा आज सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय भएको थियो ।

न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए ।

कानुन व्यवसायी छँदा हिक्मतकुमारविरुद्ध बहस गरेका उनले न्यायाधीशका रूपमा सरकारबारेको सोही प्रकृतिको मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्चले जनाएको छ ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को नियुक्त गरिएको भन्दै सरकार गठन प्रक्रिया बदर गरिनुपर्ने मागसहित कार्कीले गएको वैशाख २८ गते रिट दायर गरेका थिए ।

कोसी सरकार गठनविरुद्ध दायर रिट गएको बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले परेको थियो । रिटलाई पूर्ण इजलासमा पठाउने आदेश भएको थियो ।

एमालेका हिक्मतकुमारले प्रदेशसभाबाट कोसीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका र विश्वासको मत समेत लिइसकेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले भने उपधारा ५ अनुसार एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गर्न र आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  २ : ०७ बजे