प्रदीप पौडेलले दर्ता गराए चक्रपथ विस्तारसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका सांसद एबं नेता प्रदीप पौडेलले चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । उनले बुधबार संघीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावमा कांग्रेस सांसदहरू गगनकुमार थापा, प्रतिमा गौतम, सपना राजभण्डारी, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, अम्बिका बस्नेत समर्थक छन् । यस्तै, रास्वपाबाट शिशिर खनाल, गणेश पराजुली, सोविता गौतम समर्थक रहेका छन् ।प्रस्तावमा सांसदहरूले चक्रपथको कलंकी–चाबहिल खण्डको काम तत्काल सुरु गर्न माग गरेका छन् ।

प्रस्तावमा काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ विस्तार परियोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गरेका छन् । दोस्रो खण्ड कलंकीदेखि धोबीखोला–चाबहिलसम्मको विस्तार कार्य अघि नबढेको उल्लेख छ । नेपाल र चीन सरकार बीचमा दुई वर्षभित्रमा विस्तार सम्पन्न गरिसक्ने भनेर सन् २०१८ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पाँच वर्षभन्दा बढी बितिसक्दा समेत उक्त कार्य अघि बढ्न नसकेको प्रस्तावमा उल्लेख छ ।

सडक निर्माण लामो समयदेखि अनिश्चित भएको, धुलोधुँवाले आमनागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको, वातावरण प्रदूषण बढेकोलगायत कारणले यो विषय संसदमा छलफल गर्न प्रस्तावमा माग गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार  ८ : २२ बजे