काठमाडौं असार, १३–
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका भातृ संस्था त्यसमा पनि मुख्य गरेर नेविसंघको विषयमा बैठक केन्द्रित हुने कांग्रेसका नेताहरुले जनाएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आगामी असार २२ गते केन्द्रीय समिति बैठक बोलाईएको जानकारी गराए ।
उक्त बैठकमा नेविसंघ लगायत सबै संगठन तथा संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिने तयारी कांग्रेसले गरेको प्रवक्ता शर्माको भनाइ छ । नेविसंघ लामो समयदेखि नेतृत्वविहिन बनेको छ ।
नेविसंघ नेतृत्वविहिन बनेसँगै युवा विद्यार्थीमा अन्योलता समेत छाएको छ । नेविसंघले नेतृत्व अभावमा सांगठनिक गतिविधि समेत अघि बढाउन सकेको छैन ।
प्रवक्ता शर्माले अबको केनद्रीय समिति बैठकले नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा बैठकलाई केन्द्रीत बनाउने दावी समेत गरे ।
कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियान पनि सम्पन्न गरेको छ । त्यही अभियान सम्पन्न गरेपछि कांग्रेसले हिजो र अस्ति पार्टी केन्द्रीय कार्यालयमा ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।
उक्त अन्तरक्रियामा प्रतिनिधिहरुले पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढन पार्टी नेतृत्वलाई दबाब दिएपछि काँग्रेसले सो सम्बन्धमा समेत बैठकमा आवश्यक निर्णय लिने बुझिएको छ ।
दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनुअघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना प्रवक्ता शर्माले प्रष्ट पारे ।








