फणीन्द्र देवकोटाको पक्षमा सर्वोच्चको आदेश,सांसद पद जोगियो



काठमाडौं । फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।

आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले देवकोटाले भने माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।गण्डकी प्रदेशका ६० सदस्य प्रदेशमा बहुमत पुर्‍याउनका लागि नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा देवकोटाले मत दिएका थिए।

यो मुद्दामा सर्वोच्च अदालतले विपक्षी गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताल र माओवादी केन्द्रसँग लिखित जवाफ मागेको छ ।

संविधान र राजनीतिक दलसम्बन्धी व्यवस्था हेर्दा देवकोटाले दल त्याग गरेको नदेखिएको सर्वोच्चको प्रारम्भिक निश्कर्ष छ ।

प्रकाशित मिति : असार १०, २०८१ सोमबार  ५ : ०४ बजे