काठमाडौं । नयाँ सरकार गठन भएको भोलिपल्ट सेयर बजार परिसूचक ७०.१८ अंकले बढेर २३१० अंकमा कायम भएको छ। मंगलबार कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको जुन अघिल्लो दिनको तुलनामा ४० करोडले बढीको र ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार भएको हो ।
यसअघि माघ ३ गते ९ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबार नयाँ सरकार गठन भएको दिन नेप्से १७.१८ अंकले घटेको थियो ।
त्यसअघिका दिनमा बजार निरन्तर बढेकाले सोमबार बजारमा करेक्सन भएको लगानीकर्ता बताउँछन् । आज नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार आठ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने आठ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज अधिकांश ऋणपत्रका मूल्य घटेको छ ।











