काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफूले दैनिक १८ घण्टा काम गरिरहेको जिकिर गरेका छन्।
प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
‘मन्त्रालय मातहतका बेथिति र विसंगतिलाई हटाउन १८ घण्टा काम गरिरहेको छु। विकृतिको डंगुरमाथि उभिएको अनुभूतिसमेत भइरहेको छ,’ उनले भने। उनले आफू संसदमा तेस्रोपटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्नसमेत अपिल गरेका छन्।
मन्त्री पदलाई ठूला र दुर्लभ नठानेको उनको जिकिर छ। ‘मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो इमान र मिहिनेतको भरमा काम गरिरहेको छु,’ मन्त्री पाण्डेले भने।
बुधबार भएको हेलिकोप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको उनको भनाइ थियो।
मन्त्री पाण्डेले दुर्घटना हुनेवित्तिकै छानबिन समिति बनाएर मात्र दुर्घटनामा न्यूनीकरण गर्न नसकिने उल्लेख गर्र्दै नेपालको समग्र हवाई प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘अब हामीले सधैं छानबिन आयोग, जाँचबुभm आयोग बनाइरहने, आयोले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ । एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ । सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो,’ उनले अगाडि भने,‘समग्र अध्ययनका लागि मन्त्रालयले प्रस्ताव गर्नुपर्छ, मन्त्रिपरिषद्को बैठकमा छलफल हुनुपर्छ ।’
नेपाली आकाश असरक्षित बन्दै जानुको कारण कानुनी, नीतिगत, संरचनागत के समस्या हो त्यसको अध्ययनका लागि प्राविधिक र जनशक्ति लगायतका विषयमा अध्ययन गर्न समिति गठन गर्नका लागि समेत प्रधानमन्त्रीज्यूले निर्देशन दिएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्ने उनले बताए ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।














