भारतीय विदेशसचिव आइतबार नेपाल आउदै



काठमाडौं, २५ साउन । भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी आइतबार काठमाडौं आउने भएका हुन् ।

नेपालस्थित् भारतीय दूतावासले विदेशसचिव मिश्रीको भ्रमण तय भएको बताएको छ । यही साउन २७ गते उनी नेपाल आउने भएका हुन् । उनी दुई दिन नेपालमा रहने बताइएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा।आरजु राणादेखि विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालय स्रोतले जनाएअनुसार विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेगरि कार्यक्रम बनाउन सुरु गरिएको छ । मिश्री गत असार १४ गते भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार  ७ : ५४ बजे